जोगी र बिच्छी

एउटा गाउँको नजिकै नदि किनारमा एउटा सानो मन्दिर थियो । मन्दिरमा बिगत केही समय देखि एक जना पागल जस्तो देखिने जोगी बस्ने गरेको देखिन्थ्यो । एक दिन नदिमा ठूलो बाढी आएको थियो । नदिमा बगेर आउने रूख, काठपात, जनावर लगायतका बस्तुहरूको तमासा हेर्दै गाउँका मानिसहरू मन्दिरको आँगनमा भेला भएका थिए । जोगी हुलभन्दा अलिक पर नदी किनारमा एक्लै टुक्रुक्क बसीरहेको थियो ।
नदीको पानीमा बग्दै अनेक बस्तु आइरहेका थिए । बस्तुलाई हेरेर अनुमान गर्ने क्रममा गाउँलेहरू बिच एक किसिमको होहल्ला नै मच्चिएको थियो । यसै क्रममा पानीमा बग्दै एउटा बिच्छी जोगी बसेको ठाउँ नजिकै आइपुग्यो । जोगीले हात लम्काएर बिच्छीलाई बचाउने प्रयास गर्यो तर त्यो किनारबाट अलिक टाढै भएकोले पानीमा नपसी निकाल्न सम्भव थिएन । जोगी पानीमा पस्यो र हातको अञ्जुलीमा बिच्छीलाई उगायो । बिच्छीले आफ्नो पुच्छर जोगीको हत्केलामा गाड्यो । पिडाले जोगीको अनुहार रातोपिरो भयो । हातबाट रगतको फोहोरा बग्न थाल्यो तर जोगीले हिम्मत हारेन । जसो तसो गरेर बिच्छीलाई बाहिर किनारामा फ्याँक्यो र हत्केलाबाट बगिरहेको रगत बन्द गर्ने प्रयास गर्न लाग्यो ।
उता गाउँलेको भिडमा जोगीको मुर्खताको कारणले हल्लीखल्ली मच्चियो । सबै पेट मिची मिची हाँस्न लागे । तिनीहरूमध्ये एक जना बुद्धिमान मानिस जोगीको नजिकै आयो र भन्न लाग्यो, के तिमीलाई त्यो किरो बिच्छी हो भन्ने थाहा थिएन र ? अथवा त्यसले टोक्छ भन्ने थाहा थिएन ? यदि थाहा थियो भने यस्तो मूर्खतापूर्ण काम किन गर्यौ ?
जोगीले भन्यो, बिच्छी भन्ने चिनेको पनि थिएँ र त्यसले टोक्छ भन्ने थाहा पनि थियो । सँगसँगै मैले म मानिस हुँ र मेरो धर्म आपतमा परेकालाई बचाउनु हो भन्ने पनि बिर्सेको थिइनँ । त्यो सानो किरोले आफु त्यस्तो विपतमा परेको बेलामा त टोक्नु मेरो धर्म हो भन्ने बिर्सेको थिएन भने म चेतनशिल मानिस भएर आफ्नो धर्म कसरी बिर्सन सक्थेँ र ? जोगीको कुराले सबैको सबैको हाँसोमा अचानक ब्रेक लाग्यो । सबै बास्तविक मूर्खको खोजीमा यताउता हेर्न लागे ।