बुबा छन्

– गणेशप्रसाद ओझा

नयाँ ज्योतिको बिज छर्ने बुबा छन् ।
सही ज्ञान संस्कार भर्ने बुबा छन् ।

इ बाधाहरू देखि डर्नै परेन,
तिमी सम्झिद्यौ आँटले के गरेन ?
भलो काम गर्ने तिमी आँट मात्रै,
निसङ्कोच जङ्घार तर्ने बुबा छन् ।

म एक्लो भएँ के गरूँ साथ छैन,
तगारा अनेकौं कतै शान्ति छैन ।
म सक्दिन भन्ने कुरै के भयो र ?
तिमी निम्ति निस्वार्थ मर्ने बुबा छन् ।

निराशा र अल्छी सबै त्याग्नु पर्छ,
सधैँ जाँगरीले महासिन्धु तर्छ ।
तिमी पुग्नु नै पर्छ त्यो टाकुरामा,
बरू आँफु झुक्ने र झर्ने बुबा छन् ।

सजिलो नहोला नमिल्नेछ चैन,
कठिन् भो भनी सत्यता छोड्नु छैन,
नरोकी कदम् सार प्यारा अगाडी,
यमैका पनि सामु पर्ने बुबा छन् ।

ति बद्मासी तिम्रा सबै माफ गर्ने,
सुरक्षार्थ तिम्रो सधैँ सामु सर्ने ।
तिमीले नबोले पनि बुझ्न सक्ने,
निसंकोच् सबै माफ गर्ने बुबा छन् ।

(धन्यवाद)